दफा १२४
वादी प्रतिवादीबिच छलफल गराउन सक्ने
(१) अभियुक्तले दफा १२३ बमोजिम कसूर इन्कार रहेको वा इन्कारी प्रतिउत्तर दिएको अवस्थामा अदालतले मुद्दामा ठहर गर्नु पर्ने कुरा यकिन गर्नको लागि वादी तथा प्रतिवादीबिच छलफल गराउने आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम छलफल गराउन आदेश भएकोमा त्यसरी छलफल गर्ने भनी निर्धारण गरिएको दिन वादी, प्रतिवादी र नेपाल सरकार वादी हुने मुद्दाको हकमा अभियुक्त समेत अदालतमा उपस्थित हुनु पर्नेछ र त्यस्तो अभियुक्तले चाहेमा निजको कानून व्यवसायी समेत उपस्थित हुन सक्नेछ ।
(३) उपदफा (१) बमोजिमको छलफलमा वादीले दावी र प्रतिवादीले प्रतिवाद र तत्सम्बन्धी प्रमाण प्रस्तुत गर्न सक्नेछन् ।
(४) उपदफा (३) बमोजिम वादी प्रतिवादीले पेश गरेको दावी, प्रतिबाद तथा प्रमाणबाट अदालतले मुद्दामा ठहर गर्नु पर्ने कुरा यकिन गर्न सक्नेछ ।